संखुवासभा
केशरमान कुलुङ
श्रम संस्कृति पार्टीको घोषणापत्रः मूल सिद्धान्त ‘हर्कवाद’, प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्था धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा हालै निर्वाचन आयोगमा दर्ता भएको ‘श्रम संस्कृति पार्टी’ले आफ्नो प्रारम्भिक घोषणापत्र तथा मुख्य एजेन्डाहरू सार्वजनिक गरेको छ । सो पार्टीले मंगलबार नेपालको विद्यमान राजनीतिक, शैक्षिक र प्रशासनिक संरचनामा परिवर्तन गर्ने भन्दै महत्त्वाकांक्षी र कडा प्रस्ताव अघि सारेको हो । पार्टीका अध्यक्ष साम्पाङले परम्परागत राजनीतिक दलहरूको विकल्पमा श्रम र उत्पादनलाई केन्द्रमा राख्दै नयाँ राजनीतिक संस्कारको सुरुवात गर्ने उद्घोष गरेका छन् । पार्टीका केन्द्रीय प्रवक्ता सत्य घले गुरुङद्वारा जारी विज्ञप्ति अनुसार घोषणापत्रले शासकीय स्वरूप, शिक्षा, राष्ट्रियता र अर्थतन्त्रमा आमूल परिवर्तनको प्रतिबद्धता जनाएको छ ।
श्रम संस्कृति पार्टीले वर्तमान संसदीय व्यवस्थाको अस्थिरता अन्त्य गर्न शासकीय स्वरूपमा परिवर्तनको प्रस्ताव गरेको छ । घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था गरिने उल्लेख छ । समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्ग र जातिको हुनुपर्ने बाध्यात्मक व्यवस्था प्रस्ताव गरिएको छ ।