आईजिपी कार्कीको निर्देशनमा ५ जना प्रहरीको हेलिकप्टरद्वारा उद्धार
डोल्पामा चिसो अत्यधिक बढ्दै गएपछि इलाका प्रहरी कार्यालय नाम्दोबाट जिल्ला प्रहरी कार्यालयमा स्थानान्तरणका लागि ३ दिनको पैदल यात्रामा निस्किएका प्रहरी कर्मचारीहरू भीषण चिसो र हिमपातका कारण बाटैमा अलपत्र परेका थिए । यात्राको क्रममा अत्यधिक चिसो, हिमपात र दुर्गम भौगोलिक अवस्थाका कारण स्वास्थ्य समस्या जटिल बन्दै गएपछि उनीहरूसँग सम्पर्क कठिन बनेको थियो ।
उक्त घटना जानकारी पाएलगत्तै प्रहरी महानिरीक्षक (आईजिपी) दान बहादुर कार्कीले नेपाली सेनासँग समन्वय गर्दै हेलिकप्टरमार्फत तत्कालै उद्धार गरी उपचारको भरपर्दो ब्यवस्था मिलाउन निर्देशन दिएका थिए । आईजिपी कार्कीको निर्देशनपछि नेपाली सेनाको हेलिकप्टरमार्फत अलपत्र परेका ५ जना प्रहरीहरुलाई सुरक्षित रूपमा उद्धार गरि सुर्खेत पुर्याईएको छ । हाल कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उनिहरुको उपचार भईरहेको छ । यसरी उद्धार गरिएका प्रहरीहरुमा सहायक निरीक्षक देबदत्त पाण्डे, बरिष्ठ हवल्दार मणीराज जोशी, हवल्दार जनक बहादुर कार्की, जवानहरु नवराज भट्ट र नरेन्द्र भट्ट रहेका छन ।
डोल्पा जस्ता हिमाली जिल्लाहरुमा हुने आकस्मिक जोखिमप्रति संवेदनशीलता देखाउँदै समयमै गरिएको समन्वय र शिघ्र उद्धारका कारण ठूलो दुर्घटना टरेको जनाइएको छ । कठिन भौगोलिक तथा हिमाली जिल्लामा खटिएका सुरक्षाकर्मीहरूले भोग्नुपर्ने जोखिम र चुनौती फेरि एकपटक प्रस्ट भएको छ ।